नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताए । उनले बैैंक वित्तीय संस्थाबिरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए ।
उनले बैैंक वित्तीय संस्थाबिरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रूपमा गिराउने काम गरिरहेको दाबी गरे । गभर्नर अधिकारीले बैंकका कर्मचारीहरूलाई कालोमोसो दल्ने, बैंकबाट निस्कनेबित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानुनी कारबाही गर्न आवश्यक रहेको बताए । उनले बैंकिङ उद्योगलाई धराशायी बनाउने गरी राजनीतिसमेत जोडिएको आंशका व्यक्त गरे ।
उनले राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताए । उनले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरू कमजोर हुँदै जाने अवस्था रहेको बताए । उनले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताए । उनले सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानुनको परिधिभित्र ल्याउनु आवश्यक रहेको बताए । उनले कानुनको परिधिमा राज्यले ल्याउन सके करेक्सन हुन सक्ने बताए ।



