राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लाकेतानिन्त्रक समाजवादी पार्टी (लोसपा) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विस्थापित गर्दै नयाँ सरकार बनाउन गरेको सहमतिलाई स्वागत गरेका छन् । यी दुई विपक्षी पार्टीले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमतिलाई स्वागत गरेका हुन् ।
कांग्रेस र एमालेबीच सहमति भएको भोलिपल्ट मंगलबार राप्रपा र लोसपाको छुट्टाछुट्टै बैठकले यो सहमतिलाई स्वागत गरेको हो ।
पदाधिकारी बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो सहमतिलाई आफ्नो पार्टीले स्वागत गरेको बताए । उनले भने, ‘अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार बाहिर आइराखेको छ । त्यो सहमतिको मुख्य बुँदा भनेको संविधान संशोधन हो । संविधान संशोधन गर्न पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो, त्यसलाई हामीले प्रारम्भिक रूपमा स्वागतयोग्य विषय मानेका छौं ।’
लोसपा नेता डा. सुरेन्द्र झाले संविधान संशोधन गर्ने कार्यभारसहित नयाँ गठबन्धन बनेकाले गठबन्धनप्रति सकारात्मक रहेको बताए । उनले भने, ‘मधेश आन्दोलनका क्रममा हामीले उठाएका हाम्रा माग संविधान संशोधनमा सम्बोधन हुनुपर्छ ।’



