मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको छ ।
आज पहाडी भू-भागमा बदली रहनेछ । त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा छिटपुट देखि हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुन सक्नेछ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै बुधबार पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना छ । त्यस्तै बिहीबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा बदली हुने महाशाखाको पूर्वानुमान छ ।



