कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।
मंगलबार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वसभामुख ढुंगानालाई अतिथिको रूपमा बोलाएको थियो । कार्यक्रम हुने स्थान सिंहदरबारस्थित कृषि समितिको सभाकक्ष थियो ।
सोमबार प्रतिनिधिसभा बैठक चलिरहेको बेलामा लघुवित्त पीडितहरू संसद भवन प्रवेश गरेर नाराबाजी गरेसँगै संघीय संसद भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद भवन परिसरबाहिरको सडक पेटीमा समेत तारबार गरेर निषेधित क्षेत्र तोकिएको छ ।
कार्यक्रम आयोजक संस्था सभासद् मञ्च नेपालकी अध्यक्ष कल्पना धमलाले पूर्वसभामुखजस्तो व्यक्तिलाई समेत सिंहदरबार (पूर्वसभामुखलाई छिर्न नदिइएको स्थान भने संसद भवन नयाँ बानेश्वर हो) छिर्न गाह्रो परेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले पूर्वसभामुख तथा संविधानसभा सदस्य र सांसदहरूलाई राज्यले सम्मान गर्नुपर्ने बताइन् ।



