लुम्बिनी प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले कपिलवस्तु–३ (२) का सांसद यादवसहित १९ जनाविरुद्ध सार्वजनिक सम्पत्ति अपचलन गरेर भ्रष्टाचार गरेको आरोपमा काठमाडौँस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूविरुद्ध कपिलबस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको अख्तियारले प्रेस विज्ञप्तिमा जनाएको छ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले उक्त उजुरीपछि अख्तियारले थालेको अनुसन्धानबाट २९ लाख १२ हजार १९३ रुपैयाँ भ्रष्टाचार भएको पाइएको बताए।



