त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आइतबार प्रधानमन्त्री तथा कुलपतिमसक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।
समितिले आइतबार सर्ट लिस्टमा परेका १४ जनाको अन्तर्वार्ता लिएपछि चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बराललाई सिफारिस गरेको हो । यसअघि समितिले उपकुलपतिका लागि दरखास्त आह्वान गर्दा ४३ जनाले आवेदन दिएका थिए । तीमध्ये एक जनाको दरखास्त रद्द गरिएको थियो । ४२ जनाबाट १४ जनाको नाम सर्ट लिस्ट गरिएको थियो ।
सर्ट लिस्टमा परेकाहरूले आइतबार विस्तृत कार्ययोजनासहित प्रस्तुती र अन्तर्वार्ता दिएका थिए । यसपछि तीन जनाको नाम सिफारिस गरिएको हो । अब प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले तीन जनामध्येबाट एक जनालाई उपकुलपति नियुक्त गर्नेछन् ।



