त्रिकोणीय टी २० सिरिजको आफ्नो तेस्रो खेलमा शुक्रबार नेपालले नामिबियामाथि ३ रनको जित हात पारेको छ । टस हारेर कीर्तिपुर मैदानमा नेपालले पहिला ब्याटिङको निम्तो पाएको थियो । नेपालले ८ विकेटको क्षतिमा १८० रन बनाउँदा लक्ष्य पछ्याएको नामिबियाले ७ विकेटको क्षतिमा १७७ रन मात्र बनाउन सक्यो । जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना कायम रहेको छ । जारी सिरिजमा लगातार दुई खेलमा हार व्यहोरेको नेपालले शुक्रबार पहिलो खेल जितेको हो ।
नेपालको जितमा खेलको १६ औं ओभरमा स्पीनर दीपेन्द्रसिंह ऐरीले फालेको ड्रिम ओभर महत्वपूर्ण रह्यो । १५ ओभरमा नामिबियाले ३ विकेट गुमाएर १३३ रन बनाइसकेको थियो । तर, ऐरीले १६ औं ओभरमा अर्धशतक बनाएका नामिबियाका कप्तान जेजे स्मित र जेन निकोल लोफ्टी इटनको विकेट लिएर नेपाललाई खेलमा फर्काएका हुन् । उनले सो ओभरमा २ रन मात्र दिएका थिए ।
त्यसपछि १७ औँ ओभरमा अभिनाश बोहोराले विकेट लिएर नेपालको अवस्थामा सुधार गरेका थिए । १४ औँ ओभरमा करण केसीले २४ रन दिएपछि नेपाल दबाबमा परेको थियो । अन्तिम ओभरमा नेपालले १२ रन सुरक्षित गर्नुपर्ने अवस्थामा करण केसीले एक विकेट लिएर ८ रन मात्र दिई नेपाललाई जित दिलाए ।
नेपालले कुशल मल्लले अर्धशतक बनाएपछि चुनौतीपूर्ण स्कोर बनाएको थियो । यस्तै आरिफ शेखले ३१, गुल्सन झाले २६ र अनिल साहले २३ रन बनाएका थिए ।
यो खेलको नतिजापछि अंक तालिकामा नेपाल दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सको चार अंक छ । नामिबियाको पनि २ अंक छ । तर, उसको नेट रनरेट नेपालभन्दा कमजोर छ । अब फाइनलमा पुग्न नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउनुपर्ने छ वा नेदरल्यान्ड्सले अन्तिम खेलमा नामिबियालाई हराउनुपर्ने हुन्छ । फाइनल खेल आगामी मंगलबार हुनेछ ।



