राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान तथा गृहमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको छ ।
जसमा युवा तथा खेलकुद, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय रहेको छ ।
आज बसेको गठबन्धन बैठकको निर्णय अनुसार रास्वपाबाट उपप्रधानसहित गृहमन्त्रीमा रवि लामिछाने, श्रम तथा रोजगारमा डिपी अर्याल, खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ र शिक्षामन्त्रीमा सुमना श्रेष्ठ रहेकी छिन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमाले रास्वपासहितको गठबन्धन बनाएसँगै रास्वपा सरकारमा सामेल भएको हो। यसअघि नै रास्वपाका उपसभापति समेत रहेका सांसद डोलप्रसाद अर्याललाई सरकारमा रास्वपाले पठाइसकेको छ । बिनाविभागीय मन्त्रीको रुपमा एक मन्त्री पठाइसकेको रास्वपाले मुख्य त गृहमा दाबी गरिरहेको थियो । गृहमा एमाले माओवादी र रास्वपासहितको दाबी रहेको थियो ।
लामिछाने यसअघि नै गृहमन्त्री रहेका थिए । नागरिकता विवादका कारण छोटो समयमा नै गृहमन्त्रीबाट बाहिरिएका थिए । त्यस्तै अहिले श्रम तथा रोजगार मन्त्री बन्न लागेका डिपी अर्याल यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारीमा रहेका थिए ।
यता युवा तथा खेलकुदमन्त्री बन्न लागेका विराजभक्त श्रेष्ठ र शिक्षामन्त्री बन्न लागेकी सुमना श्रेष्ठ भने पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।



