त्रिशूली नदीमा आज बिहान बस खस्दा हराइरहेका पाँच जनाको खोजी कार्य जारी छ । बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन । चालकले ४९ जना भनेकोमा सहचालकले ५१ भनेका छन् । तर चलानी र बीचमा चढेकासहित जम्मा ५२ जना रहेको आशंका गरिएको छ ।
जसमध्ये ४० जनाको घाइते र सकुशल अवस्थामा उद्धार गरिएको छ । सात जनाको मृत्यु भएको छ चार पुरुष र एक महिलासहित पाँच जना हरारहेका बुझिएको छ ।
उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाको कमाण्डमा २८ जना, विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी तुला चौधरीको कमाण्डमा १६ जना र आश्रित गुल्म धादिङबाट ११ जनासहित ५५ जनाको फौज परिचालन भएको छ ।



