आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियाको सामना गर्दै छ । दुई देशबीचको खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुनेछ ।
नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रिनेछ ।
नामिबियासँगको पहिलो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १३२ रनमै अल आउट भएको थियो ।
दोस्रो खेलमा नेपालले बलियो टोली नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमा हारे पनि नेदरल्यान्ड्सविरुद्ध पुनरागमन जितले नेपालको मनोबल उच्च छ । नेपाले पहिलो हारको बदला लिने दाउमा हुनेछ । नामिबिया भने नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा हुनेछ ।
नेपाल र नामिबियाबीच ओडीआईमा हालसम्म ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।
शुरूआती तीन खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली नै पराजित भएका छन् । टस हार्ने टोलीलाई ब्याटिङ गर्न शुरूआतमा चुनौतीपूर्ण हुनेछ । त्यसैले आजको खेलमा पनि टस निर्णायक बन्न सक्छ ।



